१३ असोज, काठमाडौं । सरकारले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक फिर्ता लिने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले संसदमा विचाराधिन रहेको उक्त विधेयेक फिर्ता लिने निर्णय गरेको हो । त्यसैगरी बैठकले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिएको छ । बैठकले संसद्मा विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसदमा पठाउने निर्णय समेत गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिए ।
न्याम्सको नाम परिवर्तनका लागि प्रस्ताव स्वास्थ्यमन्त्री थापाले राखेका थिए । मन्त्री थापाले बोलाएको न्याम्सको सिनेटको आकस्मिक बैठकले नाम परिवर्तन गर्ने निर्णय गरी स्कीकृतिका लागि पठाएको थियो । योसँगै लामो समयदेखि डा गोविन्द केसीले उठाएका चार मागमध्येको एउटा माग सरकारले पूरा गरेको छ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रको सुधारको चार बुँदे माग राख्दै डा केसी असोज १० गतेदेखि नवौँ पटक आमरण अनशनमा छन् ।











