१३ असोज, काठमाडौं । आफैले विपक्षमा मतदान गरेर विफल पारेको विधेयक माओवादीले आफ्नो सरकार बनेपछि त्यही विधेयकलाई संसदमा पेश गरेको छ । आफैले विफल पारेको विधेयक जस्ताको तस्तै संसदमा पेश गरेर माओवादी केन्द्रले लज्जास्पद खेल खेलेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले एमाले सरकारले ल्याएको आश्रित विधेयक नै बिहीबारको संसद बैठकमा पेश गरेका हुन् । बैठकमा अर्थमन्त्री महराले विगतमा असहमतिका कारण पास हुन नसकेको विधेयक कुनै परिवर्तन नगरी ल्याइएको संसदमा जानकारी गराएका थिए । सरकारले संसदमा बजेटका तीन आश्रित विधेयक व्यबस्थापिका संसदमा पेश गरेको छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीको अविश्वास प्रस्ताव माथिको छलफल अघि ती विधेयक निर्णयार्थ पेश हुनुअघि महराले विपक्षमा मतदान गर्ने घोषणा गरेका थिए । उनले अहिले विधेयक संसदमा पेश गर्न शीर्ष राजनीतिक नेतृत्वमा सहमति भएकोमा आभार प्रकट गरे । साथै नियम निलम्बन गरी सहयोग गरेकोमा सभामुखलाई समेत धन्यवाद दिए ।
महराले खर्च गर्ने विधेयक पारित भइसकेको अवस्थामा आवश्यकता अनुसार अहिलेको विधेयक ल्याइएको बताए ।
विहीबार नै मन्त्रिपरिषदबाट पारित भएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक सरकारले संसदमा प्रस्तुत गरेको हो । संसदले तीनै विधेयक अर्को बैठकमा पारित गर्ने भएको छ । विधेयक माथिको छलफलको क्रममा एमाले सांसदहरुले भने माओवादीको कडा आलोचना गरे । एमाले सांसद रविन्द्र अधिरकीले विश्वमै नभएको प्रचलन सुरु गरेको भन्दै कसकसलाई बधाई दिनुपर्ने हो भन्दै व्यङ्ग्य गरेका थिए ।
पूर्व अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले भने तर्कका आधारमा नभई आग्रहको आधारमा विधेयक विगतमा अस्वीकृत गरिएको आरोप लगाए ।
एमाले र माओवादी सरकारले ल्याएको विनियोजन विधेयक पारित भए पनि आश्रित विधेयक पास गर्ने बेलामा भने माओवादीले विपक्षमा मतदान गरेको थियो । आफैले विफल पारेको विधेयक फेरि आफैंले संसदमा पेश गर्नु माओवादीका लागि योभन्दा ठूलो लज्जास्पद विषय केही हुन सक्दैन । सिद्धान्त र निष्ठाको कुरा गर्ने माओवादीको सत्तामोह र आडम्बर यस घटनाले छरपष्ट भएको छ ।












