१२ असोज, काठमाडौं । भारत र बंगलादेशले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरे पछि नेपालले भने सार्कको उपलब्धिबारे समीक्षा सम्मेलन गर्ने भएको छ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सार्कको प्रभावकारिता सम्बन्धमा विहीवारदेखि काठमाडौमा दुई दिने क्षेत्रीय सम्मेलन गर्न लागेको हो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री प्रचण्डले विहीबार विहान सोल्टी होटलमा गर्नेछन् ।
समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्षेत्रीय सम्मेलनमा सार्कका सबैजसो सदस्य मुलुकहरुबाट प्रतिनिधित्व हुने र सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिएको छ । समितिका सभापति प्रभु शाहले नेपाल सार्कको अध्यक्ष मुलुक भएकाले सार्कमा आफ्नो भूमिका प्रभावकारी बनाउने विषयमा सुझाव दिनका लागि सम्मेलन गर्न लागिएको बताए ।
दुई दिने सम्मेलनमा सार्कको तीन दशकको समीक्षा, आर्थिक सहायता, विश्वास र समझदारी प्रबद्र्धन लगायतका विभिन्न पाँच वटा विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गर्ने कार्यक्रम छ । छलफलमा कार्यपत्रहरु प्रस्तुत गर्ने सत्रहरुको अध्यक्षता पूर्वउपप्रधानमन्त्रीहरुले गर्ने व्यवस्था मिलाइएको समितिले जनाएको छ ।












