११ असोज, काठमाडौं । नेकपा एमालेले कसैलाई चित्त बुझाउनकै लागि संविधान संशोधन गर्न नसकिने स्पष्ट पारेको छ । एमाले केन्द्रीय कमिटीको बैठक समापनपछि मंगलबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष केपी ओलीले संशोधन गर्नुपर्ने कारण बताउन पनि आग्रह गरे ।
कसैलाई चकलेट दिएर खुसी पारेजस्तो संविधान संसोधनको विषय नभएको उनको भनाइ छ । एमाले कसैले गरेको कवुलियतनामा नबुझ्ने पार्टी भएको भन्दैं ओलीले कसैले पहिले संविधान मानेर आएपछि मात्र संबिधान संसोधन हुने बताए । संवैधानिक प्रमुख र प्रधानमन्त्री बहकिएर संशोधनको कुरा उठाइरहेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे ।
मंगलबार नै सम्पन्न एमाले केन्द्रिय कमिटिले आगामी चुनावलाई केन्द्रित गर्दै चार महिने जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कात्तिकदेखि माघसम्म चल्ने अभियानको अन्त्यमा सात प्रदेशमा जनसभा समेत गर्ने भएको छ ।
प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को काठमाडौं, ४ को पोखरा, ५ को बुटबल र नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ का धनगढीमा जनसभा गर्ने एमालेले बताएको छ । जिल्ला सदरमुकाम तथा मुख्य शहरहरुमा पनि सभा गर्ने एमालेको निर्णय छ । अभियानका क्रममा एमालेले तराई मधेसलाई केन्द्रित गरेर कार्यक्रमहरु पनि अघि सारेको छ । ती कार्यक्रमहरुमा पार्टी अध्यक्षसहित शीर्ष नेताहरु नै सहभागी हुने हुनेछन् ।












