११ असोज, काठमाडौं । धादिङको उत्तरी क्षेत्रको लापाङमा यात्रुबस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् ।
जिल्ला सदरमुकाम धादिङवेसीबाट किन्ताङफेदीतर्फ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस स्थानीय ‘लापाङ चौतारा’ नजिकै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १५ जना घाइते भएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले जानकारी दिनुभएको छ । उद्धार कार्य जारी रहेकोले मानवीय क्षति अझै बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।
धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११ : ३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको थियो ।
बसको छत र सीटमा टनाटन यात्रु भएको प्रत्यक्षदर्शी दुर्गाबहादुर कुमालले जानकारी दिनुभएको छ । पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको हो ।












