१० असोज, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको संख्याको विषयलाई लिएर दलहरुबीच एकमत नरहेका कारण इलाकाहरुलाई आधार मानेर निर्वाचन गर्ने सहमति गरेको बताएका छन् । नेपाली काँग्रेसको अछाम काठमाडौ सम्पर्क समितिले सोमबार काठमाडौमा गरेको कार्यक्रममा देउवाले स्थानीय तहको संख्या यकिन हुन नसकेको र निर्वाचन गर्नैपर्ने वाध्यताका कारण इलाकाहरुलाई आधार मानेर निर्वाचन गर्ने सहमति गरेको बताए । उनले स्थानीय तहको निर्वाचन गर्दा इलाकाहरुको हालको संख्यामा भने तलमाथि हुने बताए ।
हाल इलाकाहरुको संख्या ९२७ छ । त्यही संख्याको आसपासमा रहेर स्थानीय तहको निर्वाचन गरिने देउवाले खुलासा गरे । उनले निर्वाचनमा वहुमत ल्याउनका लागि काँग्रेस एकताबद्ध भएर जानुपर्ने तथा काँग्रेसले वहुमत ल्याएको खण्डमा मात्र लोककतन्त्र सुदृढ हुने उनले बताए ।












