१० असोज, काठमाडौं । भ्यागुताको धार्नी बनिरहेको मधेसी मोर्चाले आफ्ना मागहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो नदिएको आरोप लगाएको छ । मोर्चाकै आग्रहमा संयुक्त राष्ट्र संघको महासभामा नगई वार्ताका लागि प्रधानमन्त्री तयार रहे पनि मोर्चाको मसिहा ठान्ने उपेन्द्र यादव विदेश हानिएका छन् । मोर्चाभित्रै पनि एक्लो देखिएका उपेन्द्र निहुँ खोज्नकै लागि युरोप गएका वेला मोर्चाका अन्य नेताहरुले भने प्रधानमन्त्रीमाथि आरोप लगाउँदै मंगलबार निर्णायक वार्ता गर्ने निर्णय गरेका छन् ।
सोमबार बसेको मधेसी मोर्चाको बैठकले संविधान संशोधनबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने निर्णय गरेको हो ।
प्रचण्डले संविधान संशोधन गरेर समस्या समाधान गर्छु भने पनि अहिलेसम्म मोर्चासँग त्यस्तो कुनै प्रस्ताव नल्याएको भन्दै नौटंकी मात्र गरेको आरोप मोर्चामा सम्मिलित साना दलका नेताहरुले लगाएका थिए ।
यसैवीच सत्तारुढ दलले अघि सारेको इलाकाहरुलाई स्थानीय तह बनाउने प्रस्तावको समेत मधेसी मोर्चाले विरोध गरेको छ । यस विषयमा समेत मंगलबारको वार्तामा छलफल हुने जनाइएको छ ।












