१० असोज, चितवन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे दुर्घटनामा परी बेपत्ता भएको स्थलको अवलोकन निरीक्षण गरेका छन् । अवलोकनपश्चात मन्त्री लेखकले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा सोमबार प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्याईं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए ।
त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराएका थिए ।
सो क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्री लेखकसँग बङ्गलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै त्यसलाई झिकाउन कुटनीतिक पहल गर्ने आश्वासन दिएका थिए । अन्य स्रोतसाधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने प्रधानमन्त्रीले बताएको लेखकले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले भैसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए ।
मन्त्री लेखकले स्थानीयस्तरमा खोजी कार्यका कुनै विशेषज्ञ छन् भने खोज्न आग्रहसमेत गरे ।
मन्त्री लेखकले दुर्घटनास्थलमा भाँचिएको रेलिङ तत्काल मर्मत गर्न निर्देशन दिए । उनले त्रिशूली नदी तटीय क्षेत्रमा अत्यधिक दुर्घटना बढेको भन्दै उच्च जोखिम क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिए ।
घटनास्थलको निरीक्षण गर्न आउनुभएका मन्त्री लेखकले त्रिशूली नदी तटीय क्षेत्रलाई कसरी सुरक्षित बनाउने विषयमा मन्त्रिपरिषदमा जानकारी दिए ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटर गहिराइसम्म गएर खोजी कार्य गरिएको बताउँदै त्योभन्दा पनि गहिराइमा जाने प्रविधि र जनशक्ति आफूहरुसँग नभएको जानकारी दिएका थिए ।
तीनवटा डुङ्गा र एउटा ¥याफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी खोजी कार्यमा जुटिरहेका छन् ।
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइ आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस– ३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन् ।
सोही ठाउँबाट केही दिनअघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।












