५, असोज,काठमाडौं । माओवादी लडाकुको रकम भ्रष्ट्राचार प्रकरणमा माओवादी नेता मात्र नभएर कांग्रेसका शीर्ष नेताहरुसमेत कारवाही अगाडि बढाउने तयारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । माओवादी अध्यक्ष प्रचण्डसहित तत्कालीन शान्ति मन्त्री रामचन्द्र पौडेल, तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत लडाकुको रकम भ्रष्ट्राचारमा संलग्न रहेको भन्दै अख्तियारले पत्राचार गर्न लागेको हो ।
आयोगले लडाकु भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री प्रचण्डसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकर्तालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ ।२०७० पुसमै लडाकु भ्रष्ट्राचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासी भदौ ३१ गते पत्रकार सम्मलेन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो । सोही क्रममा अख्तियारले प्रारम्भिक अनुसन्धानमा संलग्नलाई बयानका लागि कार्यालयमा उपस्थित हुनू भन्दै पत्र लेख्ने तयारी गरेको छ । अनुसन्धानबाट धेरै पार्टीका नेता र व्यक्ति उक्त प्रकरणमा तानिन सक्ने अख्तियारस्रोतले जनाएको छ । अख्तियारले उक्त प्रकरणमा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका जिम्मेवारीमा रहेका मन्त्री, शान्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय र शान्ति कोषका तत्कालिन जिम्मेवार कर्मचारीका नाममा पत्र लेख्ने तयारी गरेको हो । लडाकु भ्रष्टाचार प्रकरणमा सबैभन्दा धेरै माओवादी केन्द्रका नेता तानिन सक्नेछन् ।
अख्तियारले प्रारम्भिक चरणमा माओवादीका २१ नेताका नाममा पत्र पठाउने तयारी अन्तिम अवस्थामा पुर्याएको छ । प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री वर्षमान पुन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बलदेव, तत्कालिन जनमुक्ति सेनाका डिभिजन कमान्डरदेखि ब्रिगेडिरसम्मलाई पत्र पठाउने तयारी गरेको छ । लडाकुका नाममा रकम विनियोजनबारे बुझ्न नेपाली कांग्रेसका नेतालाई पनि तान्ने अख्तियारको तयारी छ । तत्कालीन अर्थमन्त्री राशरण महत, शान्तिमन्त्री रामचन्द्र पौडेल र गृहमन्त्री कृष्ण सिटौलाका नाममा पत्र लेखिँदै छ । एमालेका तर्फबाट शान्तिमन्त्री भएका रकम चेम्जोङलाई पनि रकम वितरणमा जोड्ने अख्तियारको तयारी छ । हाल उनी संघीय समाजवादी पार्टीमा छन् ।












