४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । केन्द्रीय कार्यालयको आजको बैठकले प्रचण्डको भारत भ्रमणको समिक्षा गर्दै उपलब्धिमूलक भएको ठहर गरेको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राखेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। प्रचण्डको भ्रमणको उपलब्धिबारे माओवादी केन्द्रको निष्कर्षबारे प्रवक्ता भुसालले स्पष्ट पार्दै भनिन् – “भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ ।
हिजो प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणबारे बैठकलाई जानकारी गराएका थिए र आज त्यसमाथि आज सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको जानकारी प्रवक्ता भुसाल दिइन्। माओवादी केन्द्रीय कार्यालयको अर्को बैठक भोलि वुधबार पनि बस्नेछ ।












