४ असोज, सोलु । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया शुरु नगर्नुले सरकार र मधेसी मोर्चावीच भएको तीन बुँदे सम्झौता कार्यान्वयनमा शंका पैदा भएको बताएका छन् ।
शेर्पा प्रदेशको प्रशिक्षणका सोलुखुम्बु पुगेका यादवले संविधानलाई प्वालैप्वाल भएको च्यादरको संज्ञा दिँदै दलहरु प्वाल टाल्न सहमत नभए आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
प्रचण्ड सरकारले संघीय गठबन्धनका माग संविधान संशोधनको माध्यमवाट पुरा गर्ने प्रतिवद्धता जनाएकाले सरकार बाहिरै बसेर पनि समर्थन जनाएको अध्यक्ष यादवको भनाइ थियो । उनले संशोधनका लागि एमाले सहमत नभएको र अतिवादी सोचका कारण देश द्वन्द्वमा जान संक्ने तर्क गरे ।
संविधान संशोधनको मुख्य एजेण्डा संघीयता भित्र पहिचान, प्रादेशिक स्वायत्त र सुशासन, राज्यपुर्नसंरचना, स्रोत साधन तथा शक्तिको बाँडफाँड नै रहने भनाइ उनको थियो ।












