४ असोज, काठमाडौं । राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम विष्फोट हुँदा शैक्षिक क्षेत्रमा त्रास फैलिएको छ ।
बौद्धको आकाशद्विप बोर्डिङ स्कुल र मनकामना उच्च माविमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ भने ललितपुरको रेडियन्ट स्कुल र डल्लुमा रहेको कञ्चनजंघा स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।
विष्फोटमा कुनै मानवीय क्षति नभए पनि राजधानीका विद्यालयहरुमा त्रास फैलिएको छ । वम विस्फोटले आकाशद्विप स्कुलको गेटमा क्षति पुगेको छ ।
विष्फोटमा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाले जानकारी दिएका छन् । बम विस्फोट बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।

राजधानीको बौद्धस्थित राई स्कुलमा शंकाष्पद वस्तु समेत फेला परेहकोे थियो ।
डल्लुमा रहेको कञ्चनजंघा स्कुलमा भेटिएको प्रेसर कुकर बम सेनाको बम डिस्पोजल टोलिले निष्क्रिय पारेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा वार्षिक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउनुपर्ने, नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउनै पर्ने अवस्था अन्त्य गर्नुपर्ने माग गरिएको छ ।
दशैंको समयमा चन्दा उठानका लागि स्कुलमा आतंक फैलाएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।












