३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणबाट कुनै अपेक्षा नगरेको दावी गरेको छ । एमालेले विहीबार पार्टी मख्यालयमा स्थायी समितिको बैठक गरेर आवश्यकता विना नै प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएको भन्दै भ्रमणबाट कुनै अपेक्षा नगरेको बताएको हो ।
बैठकले मलुक र जनताको अहित हुने किसिमका सम्झौता नगर्न प्रधानमन्त्री दाहाललाई सचेत समेत गराएको छ । बैठकमा धारणा राखेका नेताहरुले तीन तहको निर्वाचन गरेर संविधान कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने बेला असमयमा भारत गएर प्रधानमन्त्री दाहालले गल्ती गरेको बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी निर्वाचनको वातावरण तयार पार्नुपर्ने काम छाडेर प्रधानमन्त्री दाहालले भारत भ्रमणलाई उच्च महत्त्व दिनु शंकास्पद् भएको धारणा समेत राखेका थिए । धेरै प्राथमिकता दिएर भारत गएका कारण दाहालको भ्रमणलाई पार्टीले नजिकबाट नियालिरहेको एमालेका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
आगामी असोज ५ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारीस्वरुप बसेको बैठकमा नेताहरुले निर्वाचन गरेर संविधानको कार्यान्वयनका लागि दवाव दिन देशव्यापी अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा जेष्ठ कम्युनिस्ट मञ्च गठन, केन्द्रीय सल्लाहकार परिषद् विस्तार र विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीको सदस्यता लिएका नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिने विषयमा छलफल भए पनि कुनै निर्णय हुन सकेन ।












