३० भदौ, काठमाडौं । सनराइज बैंकले सेयरधनीलाई ३३.३३ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिले वोनस सेयर प्रस्ताव गरेको हो । शुक्रवार वोनस सेयर तथा सम्पूर्ण वित्तीय विवरण स्वीकृत गराउन सनराइज नेपाल राष्ट्र बैंक जाने छ ।
राष्ट्र बैंकले असोजको ६र७ गतेसम्म स्वीकृति दिएमा बैंकले असोज मसान्तसम्म साधारणसभा गरेर लाभांस अनुमोदन गर्ने लक्ष्य लिएको छ । अहिले बैंकको ३९७ करोड रुपैयाँ चुक्ता पुँजी छ । वोनस सेयर वितरणपछि पुँजी ५३० करोड रुपैयाँ हाराहारी पुग्छ ।
बैंकले गत आर्थिक बर्ष आफूले गरेको नाफा, नारायणी नेशनल फाइनान्स किन्दा स्वाप अनुपातमा बाँचेको करिव १९ करोड रुपैयाँ र फाइनान्सले गरेको नाफासमेत मिलाएर सेयरधनीलाई बम्पर लाभांस घोषणा गरेको हो ।
नारायणी नेशनल फाइनान्स मर्ज भएको दिनसम्म कायम सेयरधनीले सरकारलाई वोनस सेयर वापत लाग्ने कर पनि तिर्नु पर्दैन । त्यसयताका सेयरधनीले भने वोनस सेयर लिनका लागि सरकारलाई पाँच प्रतिशत कर तिर्नु पर्छ ।
बैंकले आगामी साधारणसभामा हकप्रद सेयरको प्रस्ताव पनि लैजाने छ । पहिले नै घोषणा भएको ३० प्रतिशत हकप्रद नारायणी नेशनल किन्ने भएपछि प्रकृया अगाडि वढेको थिएन । अब भने केही बढाएर हकप्रद सेयर समेत जारी गर्ने योजनामा बैंक छ । बैकले ३५ प्रतिशतसम्म हकप्रद जारी गर्ने लक्ष्य लिएको छ ।
वोनस सेयरपछि कायम पुँजीमा हकप्रद जारी भएपछि पुँजी सात अर्ब हाराहारी पुग्ने छ । यसपछि बैंकले चालु आर्थिक वर्षको नाफाबाट वोनस सेयर दिएर पुँजी आठ अर्ब पुर्या उने योजनामा बैंक छ ।














