२९ भदौ, काठमाडौं । विगत ६ वर्षदेखि अनशन गर्दै आएकी गोर्खाकी गंगामाया अधिकारीले अनशन तोडेकी छिन् । वीर अस्पतालमा आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले अनशन तोडेकी हुन् ।
एक महिनादेखि गङ्गामायाले औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा आमरण अनशन सुरु गरेकी थिइन् । तर उनले आजबाट अनशन तोडेकी हुन् । हिजो मात्रै गंगामायालाई अनशन बस्न बाध्य पार्ने स्वघोषित मानवअधिकारकर्मीहरुले गंगामायाका माग सुन्न चेतावनी दिँदै पत्रकार सम्मेलन गरेका थिए । गंगामायालाई कुनै पनि हालतमा अनशन तोड्न दिन नहुने आशयसहित प्याकुरेल थरका एक मानवअधिकारकर्मीले हिजो दवावमुलक कार्यक्रम गरेका थिए । तर डलरवादीहरुको कुरा नसुनी गंगामायाले बाँच्न पाउने आफ्नो अधिकारको उपयोग गरेकी छिन् ।
विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन् ।
गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी इन्द्र अर्यालले यही असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि आफूहरुको आग्रहमा उनले अनशन तोडेको जानकारी दिए ।
उनले भने –‘बयान दिनकै लागि भए पनि बोल्नसक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनशन तोड्न लगाएका हौँ ।’
विसं २०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन ।
मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागिएको हो ।
अनशनकै क्रममा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो भने उनका शव एक वर्षदेखि शिक्षण अस्पतालमा रहेको छ । केही डलरवादी व्यक्तिहरुले माओवादीलाई ठेगान लगाउन नन्दप्रसाद र गंगामायालाई अनशन गरिरहन बाध्य पारेका समाचारहरु आइरहेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेल र पूर्वमाओवादी नेता बाबुराम भट्टराईहरुले डलरवादीकै कारण अधिकारीको अनशन जारी रहेको बताउँदै आएका छन् । अधिकारी काण्डमा स्वनामधन्य मानवअधिकारवादीहरुले ठूलै रकम खाएर नन्दप्रसादलाई मृत्युको मुखमा पर्याएको भन्दै आलोचना हुँदै आएको थियो । गंगामायाले पहिले नै अनशन तोड्न चाहे पनि तिनै स्वनामधन्य मानवअधिकारवादीका कारण उनी अप्ठेरोमा पर्दै आएकी थिइन् । पति गुमाए पनि गंगामाया भने अब बाँच्ने भएकी छिन् ।












