२८ भदौ, काठमाडौं । काठमाडौ उपत्यकाका नेवार समुदायले विशेष पर्वको इन्द्रजात्राको सुरुको दिनमै लिङ्गो ढलेपछि अशुभ हुने अड्कलवाजी गरिएको छ । मंगलबार वसन्तपुरमा लिंगो ठड्याउने क्रममा लिंगो ढलेपछि दुई जना घाइते भएका छन् । असन्तुल भएर लिंगो ढल्दा नेपाली सेनाका सिपाही भुमबहादुर गुरुङ र सिन्धुपाल्चोकका पुष्प लामा घाइते भएका हुन्। सुरुवातकै दिनमा लिङ्गो ढलेपछि देशमा अशुभ हुन सक्ने त्रास स्थानीयवासीमा देखिएको छ । इन्द्रजात्राको लिङ्गो ढलेमा अशुभ हुने स्थानीयहरुको विश्वास रहँदै आएको छ ।
ढलेको लिङ्गोलाई फेरि ठड्याएपछि आज भाद्र शुक्ल द्वादशीका विधिवत रुपमा इन्द्रजात्रा पर्व सुरु भएको छ।
लिंगो ठड्याइएको आठ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृहरुको सम्झनामा शान्तिपाठ, स्तोत्रपाठ, पूजाआजा गरी जात्रा मनाउने चलन छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधनाका साथै जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच गर्ने प्रचलन रहेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखा लगायतका स्थानमा पनि मनाइन्छ । यस वर्ष भदौ ३० गते इन्द्रजात्रा परेको छ । इन्द्रजात्राका दिन राष्ट्रप्रमुखबाट हनुमानढोकामा जीवित देवीका रुपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा दर्शन गर्ने परम्परा छ।
नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले काठमाडौंवासीहरु इन्द्रजात्रा मनाउन व्यस्त भएको दिनमा आक्रमण गरी विजय प्राप्त गरेको इतिहास छ । यसकारण पनि काठमाडौंवासीले इन्द्रजात्राकै दिन आफ्नो पुरानो राज्य गुमाएको अविष्मरणीय दिन हुँदै हो ।












