२८ भदौ, काठमाडौं । नेपालको पानीमाथि कुदृष्टि लगाउँदै आएको भारतले आफ्नै देशभित्रको पानीसम्बन्धि विवाद मिलाउन नसक्दा सडकका दर्जनौं सवारी साधनहरु जलाइएका छन् । भारतका दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवादले त्यहाँ उग्र रुप लिएको हो । विवादकै कारण बेङलुरुमा ४० भन्दा बढी बसमाथि आगजनी भएको छ।

तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकमा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको छ। जसले सोमबार हिंस्रक रुप लिएपछि प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले धारा १ सय ४४ लागू गरेको छ ।
बेङलुरुमा हाल ७ स्थानमा कर्फ्यु लगाइएको कर्नाटका सरकारले जानकारी दिएको छ। राज्यका गृहमन्त्री जी परमेश्वरले हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली ठोक्ने आदेश दिएका छन्।
सोमबार जलाइएका गाडीहरू तमिलनाडुको नम्बर प्लेटका थिए। यस्तै, तमिलनाडुबाट कर्नाटकमा आएर विभिन्न व्यवसाय गरिरहेका व्यक्तिहरूको पसल छानीछानी तोडफोड र आगजनी गरिएको थियो। प्रहरीका अनुसार यो घटनामा २ सय प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

भारतका दुई छिमेकी राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी उपभोग गर्ने सम्बन्धमा तनाव भएको यो पहिलो घटना होइन्। पानीको विषयलाई लिएर यी दुई राज्यबीच १ सय ३५ वर्षदेखि झगडा छ। खासमा यस क्षेत्रमा बर्षायाममा पानी कम पर्ने वित्तिकै सिचाइँलगायतका कुरामा पानीको उपयोगलाई लिएर विवाद हुने गरेको छ।
कर्नाटकका सरकारले केही समयअघि उच्च न्यायलयमा कावेरी नदीबाट १५ हजार क्युसेक पानी उपलब्ध गराउन याचिका दायर गरेको थियो। तर, न्यायलयले १५ को स्थानमा १२ हजार क्युसेक पानी अघिल्लो १० दिनसम्म उपलब्ध गराउन आदेश दिएपछि तनाव उत्पन्न भएको थियो।
नेपालका नदी तथा जलसम्पदामाथि कुदृष्टि लगाउँदै नेपाली जनतालाई समेत यहाँको पानी प्रयोग गर्न विभिन्न बन्देज लगाउँदै आएको भारत आफ्नै देशभित्रको पानी विवाद मिलाउन नसकेर लाचारी देखिएको यस घटनाले पुष्टि गरेको छ ।











