२७ भदौ, सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणअघि नै संविधान संशोधन गर्न चाहेको तर अवरोध आएका कारण सम्भव नभएको खुलासा गरेका छन् ।
माओवादी केन्द्रले सिरहा क्षेत्र नम्बर ५ स्थित मिर्चैयामा सोमबार आयोजना गरेको जनसभालाई टेलिफोनमार्फत सम्बोधन गर्दै उनले भारत भ्रमण अघि नै संविधान संशोधन गर्ने इच्छा भए पनि केही प्राविधिक समस्याले सम्भव नभएको बताए । प्राविधिक समस्याले आफ्नो ईच्छामा अवरोध आएको प्रचण्डले बताए पनि त्यो प्राविधिक समस्या भनेको भारतको दवाव हो या अन्य केही हो भन्ने कुरा भने प्रष्ट पारेनन् ।
उनले विदेश भ्रमणपछि संशोधन हुने प्रतिबद्धता जनाए । ‘सबैलाई स्विकार्य हुने गरी संविधान संशोधन गरेर राष्ट्रिय एकता कायम गरि संबिधान कार्यान्वयन गराउने लक्ष्य छ,’ उनले भने, ‘संविधान संशोधनपछि स्थानीय निकायको निर्वाचन, प्रदेशको निर्वाचनलगायतको काम गरेर जनताको विकासको काम गर्नु छ ।’
प्रधानमन्त्री बनेपछि उपत्यका बाहिर सबभन्दा पहिले मधेसमा नै गएर जनतासँग भेट्ने इच्छा वर्षाको कारण सम्भव नभएको बताउँदै उनले विदेश भ्रमणबाट फर्केलगत्तै मधेसमा नै आएर जनतासँग भेटेर सम्बोधन गर्ने प्रतिबद्धता जनाए । ‘भारत भ्रमणमा मधेसको समग्र विकासको मेरुदण्ड हुलाकी सडक निर्माणको पहिलो प्याकेजको सबै गाठो फुकिसकेकोले दोस्रो प्याकेजको काम अगाडि बढाउनेबारे कुरो उठाउने छु,’ उनले भने ।
कार्यक्रममा माओवादी केन्द्रका मधेस प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले सम्बोधन गरेका थिए ।













