२७ भदौ, काठमाडौं । प्रचण्ड सरकारले भारतप्रति झुकाव राखेका कारण असन्तुष्ट बनेको चीनसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले कुरा मिलाएका छन् । तिब्बतको सांस्कृतिक कार्यक्रम हेर्ने वाहनामा चीन गएका महराले चीनसँग कुरा मिलाएर राष्ट्रपति सि जिनफिङको भ्रमण रद्द नहुने वातावरण बनाएका छन् । महराको दोस्रो चीन भ्रमणपछि चीनले समेत आफ्नो पहिलेको तयारीमा पुनरावलोकन गर्ने पक्षमा देखिएको छ ।
यसअघि चीनले राष्ट्रपति सि जिनफिङको भ्रमणको तयारी नपुगेको भन्दै भ्रमण स्थगित समेत गरेका समाचार प्रकाशित भएका थिए । तर यतिवेला भने चीनले आफ्नो पूर्वअभिव्यक्तिलाई सच्याउँदै नेपालसँग ‘निकट सम्वाद’मा रहेको बताएको छ । बेइजिङले सिको नेपाल भ्रमण रद्द भएको खबरको खण्डन समेत गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने जानकारी दिएकी हुन् । उनले भनेकी छन्, ‘उच्चस्तरको भ्रमण आदान प्रदानबारे दुई पक्ष निरन्तर सम्वादमा छन् ।’ राष्ट्रपतिको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने समेत चीनले बताएको छ ।
चीनले प्रचण्ड नेतृत्वको नयाँ सरकारसँगको सम्वन्धलाई महत्व दिएको समेत बताएको छ । चीनले नेपालको नयाँ सरकारसँग सम्वन्धलाई महत्व दिएको र दुई देशीय सम्वन्ध अगाडि बढाउन चाहेको उल्लेख गरेको छ ।
चीनको पछिल्लो अभिव्यक्तिले राष्ट्रपति सिको भ्रमण निश्चित नभए पनि रद्द नभएको भनी प्रचण्ड सरकारलाई सजिलो पारिदिएको छ । सिको भ्रमण स्थगित भएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले कांग्रेस र माओवादीको आलोचना गर्दै आएको थियो ।












