२७ भदौ, कञ्चनपुर । मोटरसाइकल चोरेर कुदाउनेमाथि कञ्चनपुरमा प्रहरीले निगरानी बढाएको छ । जिल्लाको झलारी पिपलाडी नगरपालिका क्षेत्रबाट मात्रै १७ मोटरसाइकलसहित चोरहरुलाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकलमा नक्कली नम्बर अङ्कित गरी कुदाइएका १७ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।
नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय झलारीले चोरीका अवैध मोटरसाइकल बरामद गरेको हो ।
बरामद मोटरसाइकलमध्ये ११ वटालाई भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक सुदाम रावलले बताए ।
“भदौ महिनामा बरामद गरिएका बाँकी छवटा चोरीका मोटरसाइकल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाएका छौँ” – प्रहरी निरीक्षक रावलले भने ।
अवैधरुपमा नक्कली नम्बर अङ्कित गरी सञ्चालनमा रहेका चोरीका मोटरसाइकल अवैध सामान ओसारपसार र आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएपछि नगरपालिकाका विभिन्न क्षेत्रबाट प्रहरी परिचालन गरी बरामद गरिएको उनले बताए।
यसैक्रममा, नौ महिनाको अवधिमै इलाका प्रहरी कार्यालय, झलारीले पाँचजना फरार अभियुक्तलाई पक्राउ गरी जिप्रका, कञ्चनपुरमा बुझाइएको, चोरी निकासी हुँदै आएको रु एक लाख २७ हजार बराबरको सामान बरामद गरी भन्सारमा बुझाइएको र रु ८० हजार मूल्यको अवैध मदिरा बरामद गरी राजस्व कार्यालय महेन्द्रनगरमा बुझाएको जानकारी दिएको छ ।












