आरोपको पुरावृत्ति : हिजो एमालेलाई राष्ट्रघाती भन्ने प्रचण्डलाई आज एमालेबाट त्यही उपमा
२५ भदौ, काठमाडौं । माधव नेपाल प्रधानमन्त्री भएका वेला नेता नेपाललाई राष्ट्रघाती भन्दै तीव्र आन्दोलन गरेका माओवादी अध्यक्ष प्रचण्ड र नेता नेपालबिच यतिवेला निकटता बढेको छ । आफू नेतृत्वको सरकार ढालेर माधव नेपालको सरकार भारतले बनाएको भनी आरोप लगाउने प्रचण्डले अहिले त्यही आरोप एमाले अध्यक्ष केपी ओलीबाट खेपिरहेका छन् ।
समयक्रमसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको तिक्तता कम गर्नका लागि भन्दै प्रचण्ड र नेता नेपाल छलफलमा जुटेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबीच आरोप प्रत्यारोपको क्रम चलिरहेका वेला नेता नेपालले भने सम्बन्ध सुधारको प्रयास थालेका हुन् । यही प्रयासस्वरुप नेता नेपालले आज शनिबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । ओलीसँग सम्बन्ध विग्रिएपछि प्रचण्ड पनि नेता नेपालसँग नजिकिएका हुन् ।
सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको नेता नेपाल निकट स्रोतले जानकारी दिएको छ ।
एक घण्टासम्म भएको छलफलमा प्रधानमन्त्रीको भारत भ्रमण लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री र नेता नेपालबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ ।












