२५ भदौ, काठमाडौं । पुराना र एकपल्ट परीक्षित व्यक्ति बटुलेर नयाँ शक्ति नामको पार्टी खोलेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीले पुरानै पार्टीको पुनरावृत्ति हुने गरी काम नगर्ने दावी गरेका छन् ।
तमु राष्ट्रिय परिषद् नेपालको प्रथम राष्ट्रिय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले संविधान संशोधन गरी सङ्घीय ढाँचामा लगिनुपर्ने बताए ।
सबै अग्रगामी सोच राख्ने जाति, समुदाय एकै ठाउँमा बसेर राज्यको पुनःसंरचना गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले विकास र समृद्धिका साझा अवधारणा लिएर देशलाई सुन्दर र शान्त नेपाल बनाउनुपर्नेमा जोड दिए ।
डा. भट्टराईले अहिले रोजगारी नपाएर ठूलो जनशक्ति विदेशमा जानुपरेको बताउँदै कृषि, पर्यटन, जलस्रोत र उद्योगका क्षेत्रमा विकास गरी सबै युवालाई यहीँ रोजगारी दिने गरी वातावरण बनाएर पार्टी अघि बढ्ने गफ दिए ।
उनले नयाँ सोच, विचार राख्दै वैकल्पिक शक्तिका रुपमा आफ्नो पार्टी अघि बढेको र यसलाई सबै नेपाली जनताको साथ रहने विश्वास व्यक्त गरे ।












