२५ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज अचानक चीनतर्फ गएका छन् । मन्त्री भएको एक महिनाको अवधिमा महरा शनिबार दोस्रो पटक चीन भ्रमणमा गएका हुन् । चीनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको समाचार आइरहेका वेला महरा अचानक चीन जानुलाई महत्वका साथ हेरिएको छ ।
उपप्रधानमन्त्री महरा तिब्बतमा हुने एक कार्यक्रममा सहभागी हुन चीन गएको जनाइएको छ । तिब्बतमा हुने एक सांस्कृतिक कार्यक्रममा महरा सहभागी हुने कार्यक्रम रहेको उहाँका प्रमुख स्वकीय सचिव हिमाल शर्माले जानकारी दिए । चीन बसाइका क्रममा राजनीतिक भेटवार्ता हुन सक्ने स्वकीय सचिव शर्माले उल्लेख गरे ।
महरा आइतबार स्वदेश फर्कने छन् ।
यसअघि उपप्रधानमन्त्री महरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेषदूत बनेर साउन अन्तिम साता चीन गएका थिए । चीन भ्रमणबाट फर्किएपछि महराले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असोज अन्तिम साता हुने बताएका थिए । तर, चिनियाँ राष्ट्रपति भ्रमण स्थगित भएको खबर सार्वजनिक भएपछि पुनःचीन प्रस्थान गर्नुलाई महत्वका साथ हेरिएको छ ।












