नरेश सर्राफ
२४ भदौ, वीरगंज । वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालालाई उनकै कार्यालयका एक अधिकृतले कुटपिट गरेका छन । कार्यालयका प्रशासन अधिकृत रामदयाल यादवले कार्यकारी अधिकृत कोइरालामाथि हातपात गरेका हुन ।
हातपात गरि रगताम्य बनाए लगतै यादवलाई उपमहानगरपालिकाले तत्काल निलम्वन गरिएको छ । उत्पन्न समस्या समाधानका लागि उपमहानगरपालिकाका कर्मचारी र अधिकृत बिच आजै बसेको बैठकले यादवलाई निलम्ब गर्ने निर्णय गरेको हो ।
वीरगंज उपमहानगरपालिकामा सरसफाईमा करारमा कार्यरत चालकहरुको म्याद थप गर्ने विषयलाई लिएर प्रशासन शाखा प्रमुख रामदयाल यादव समक्ष पुगेका चालकहरुलाई आफूले म्याद थप गर्न नसक्ने भन्दै निवेदन फालिदिएपछि राजेश क्षेत्री लगायतका चालकहरु आक्रोशित भई प्रशासन फाटको टेबुलको शिशा फुटालिदिएको र यादव माथि पनि आक्रमण गरेको भएको थियो ।
चालकको आक्रमण पछि आक्रोशित भएका यादव एक्कासी कार्यकारी अधिकृत विष्णु कोइरालाको कार्यकक्षमा प्रवेश गरी अन्य कर्मचारीहरुको अगाडी कोइरालाललाई नाक र टाउकोमा मुक्का प्रहार गरेका थिए ।
यादवको मुक्का प्रहारबाट नाकबाट रगत बगेर रगताम्य भएका कार्यकारी अधिकृत सोझै जिल्ला प्रशाशन कार्यालयमा पुगेका थिए । घटना हेर्ने बितिक्कै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले तत्काल यादवलाई पक्राउ गर्न पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठलाई निर्देशन दिएका थिए । घटना लगतै उपमहानगरपालिकामा प्रहरी टोली पुग्दा यादव फरार भई सकेको नगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।
घटनापछि उपमहानगरपालिका कर्मचारीहरुले सुरक्षाको माग गर्दै कामकाज ठप्प पारेका थिए । उत्पन्न समस्या समाधानका लागि उपमहानगरपालिकाका कर्मचारी र अधिकृतबिच आजै बसेको बैठकले यादवलाई निलम्ब गर्ने निर्णय गरेको छ । घटनामा रामदयाल यादव, पियन महादेव यादव र चालक राजेश क्षेत्री पनि सामान्य घाइते भएका छन् । घाइतेमध्ये पियन महादेव यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
रामदयाल यादवले आफू माथि सुनियोजित षडयन्त्र भएको र कार्यकारी अधिकृत कोइरालाले राजेश क्षेत्री, राजेन्द्र नेपाली लगायतका चालकहरुलाई पठाएर आफू माथि आक्रमण गरेको दावी गरेका छन् । लामो समयदेखि लेखा फाँटमा काम गर्दै आएका रामदयाल यादवलाई कार्यकारी अधिकृत विष्णु कोइरालाले प्रशासान शाखाको प्रमुखमा सरुवा गरेपछि उत्पन्न विवादले आज उग्र रुप लिँदा यो घट्ना भएको उपमहानगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।













