२४ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतले उच्च प्राथमिकता दिएपछि एमाले अत्तालिएर चिनको कार्ड प्रयोग गर्दै आलोचनामा उत्रिएको छ । भाद्र ३० गतेदेखि असोज २ सम्म हुने प्रचण्डको भारत भ्रमणका क्रममा उनलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाएर भारतले उच्च प्राथमिकता दिने भएपछि एमालेले चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भएको बारे सरकारसँग जवाफ मागेको छ ।
प्रचण्डलाई राष्ट्रपतिभवनमा भारतीय सेनाले गार्ड अफ अनर सम्मान समेत दिन तय भैसकपछि एमालेले संसदमा जवाफ मात्रै मागेको छैन एमाले अध्यक्ष ओलीले त आफूले भन्दा राम्रो सम्झौता गरेर देखाउन समेत प्रचण्डलाई चुनौति समेत दिएका छन् ।
राष्ट्रपतिभवनमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता समेत हुने भएपछि एमालेले चिनका राष्ट्रपतिको कुरा उठाएको हो । शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमण रोकिएको भन्ने खबर आएको प्रष्ट पार्न माग गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति नलिएको आरोप समेत एमालेले लगाएको छ । एमाले अध्यक्ष ओलीले शुक्रबार एक कार्यक्रममा बोल्दै प्रचण्डको संसद सम्बोधनलाई मयुर नाचको संज्ञा दिए । बाह् शक्तिले प्रचण्डलाई प्रधानमन्त्री बनाएको उल्लेख गर्दै ओलीले वर्तमान सरकारको कडा आलोचना समेत गरेका छन् ।












