२४ भदौ, काठमाण्डौं । मुक्त कमैयाहरुले भूमिहिन मुक्त कमैयालाई जग्गा खरिद्का लागि दिइने अनुदान बढाएर पाँच लाख पु¥याउन सरकारसँग माग गरेका छन् ।
मुक्त कमैया समाजले शुक्रबार विहान सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई १२ बुँदे ज्ञापनपत्र बुझाइ जग्गा खरिद्का लागि दिइने अनुदान २ लाखबाट बढाएर ५ लाख पु¥याउन माग गरेको हो । सुशिल कोइराला नेतृत्वको सरकारले डेढ वर्ष पहिले मुक्त कमैयाहरुको पुर्नस्थापना गर्न उनीहरुलाई जग्गा खरिद्का लागि दिने अनुदान रकम १ लाख ५० हजारबाट बढाएर २ लाख रुपैयाँ पु¥याएको थियो ।
२ लाख रुपैयाँले जग्गा पाइन छोडेको भन्दै मुक्त कमैयाहरुले अनुदान बढाउन माग गरेका हुन् । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहालले अनुदान रकम बढाउने लगायतका माग सम्बोधनका लागि आफूले सक्दो पहल गर्ने बताए ।
समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार सरकारले अझै ३ हजार ५ सय मुक्त कमैयालाई पुर्नस्थापना गर्न बाँकि छ । समाजको ज्ञापनपत्रमा पहिचान हुन नसकेका छुट मुक्त कमैयालाई तत्काल पहिचान गरेर परिचयपत्र उपलब्ध गराइनुपर्ने, मुक्त कमैयाहरुको निःशुल्क उपचारको व्यवस्था गरिनुपर्ने, मुक्त कमैया महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग समावेश छन् ।











