२२ भदौ, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हावादारी गफ दिएको बताएका छन् । प्रचण्डले विश्वको जनसंख्याको आधा जनसंख्याको हाराहारीमा ३ अर्ब पर्यटक नेपाल भित्र्याउने भनेर हावादारी कुरा गरेको बताएका हुन् । केवुलकार चढेर चन्द्रागिरि अवलोकन गर्न पुगेका आलीले आफ्ना कुरालाई हावादारी भन्ने प्रचण्डले उल्टै असम्भव कुरा गरेको भनी व्यङ्ग्य गरेका हुन् । एमाले भ्रातृ संगठनले आयोजना गरेको चन्द्रागिरि पर्यटन प्रवद्र्धन समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुँदा गरेका कुरालाई हावादारी भनेकोप्रति गुनासो समेत गरे । आफूले रेल कुदाउने कुरा गर्दा हावादारी गफ भन्ने प्रचण्डले ३ अर्ब पर्यटक ल्याउँछु भन्नु हावादारी हो कि व्यवहारिक भनी ओलीले प्रश्न गरे ।
चन्द्रगिरिमा निर्मित केबुल कार संचालनका लागि नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न आग्रह समेत गरे । वर्तमान सरकारले नियमित विद्युत आपूर्ति नगरे केही समय पर्खन आग्रह गर्दै ओलीले छिट्टै एमाले नेतृत्वको सरकार बन्ने संकेत समेत गरे । नेपालदेशडटकले ओलीसँग छुट्टै लिएको प्रतिक्रियामा ओलीले स्पष्ट पार्दै भने आफूले एमालेको सरकार छिट्टै बन्ने संकेत नगरी निर्वाचनपश्चात एमालेले सरकार बनाउनेतर्फ संकेत गरेको उल्लेख गरे ।
विद्युत आपूर्ति नियमित नहुँदा चन्द्रगिरि केबुल कार रोकिएको भन्दै केही दिन पहिले केही अनलाइनहरुमा समाचार प्रकाशित भएको थियो । नेपालमा विदेशी पर्यटकको बसाई लम्ब्याउन चन्द्रागिरि हिल्स लिमिटेडको आयोजनाले सहयोग पुर्याउने भन्दै यस्तो आयोजनाका लागि सरकारले डेडिकेटेड लाइनबाट नियमित विद्युत दिनुपर्ने धारणा लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । तथ्य बुझेरा मात्रै समाचार सम्प्रेषण गरिदिन ढकालले संचारमाध्यमहरुलाई आग्रह समेत गरे ।
वुधबार ओलीसहित एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षहरु वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य लगायतका दुई दर्जन नेता केबुलकार चढेर चन्द्रागिरिको अवलोकन गर्न थिए । चन्द्रागिरिको अवलोकपछि ओलीले त्यस स्थानमा पृथ्वीनारायण शाहको जुँगामा ताउ लगाउँदै गरेको सालिक राख्न समेत सुझाव दिएका थिए । पृथ्वीनारायण शाहले चन्द्रगिरिबाट काठमाडौं उपत्यकाको अवलोकन गरेर विजय प्राप्त गर्ने इच्छा गरेका थिए । त्यही इतिहासलाई झल्काउनका लागि ओलीले यस्तो सालिक राख्न सुझाव दिएका हुन् ।













