२२ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर वेलायतले गरेको गम्भिर गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताएका छन् । प्रेस विज्ञप्तीमार्फत भट्टराईले वेलायतलाई अबका दिनमा यस्तो नगर्न चेतावनी समेत दिएका छन् । आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् भन्ने चेतावनी उनको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैबीच कर्णेल कुमार लामाले डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गरेको जानकारी समेत भट्टराईको पार्टीले दिएको छ ।
महासेनानी कुमार लामालाई थुनामुक्त गर्नको लागि तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले जानकारी दिए । साथै तत्कालीन सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो । विश्वव्यापी क्षेत्राधिकारको कानु अन्तर्गत लामा सन् २०१३ को जनवरीमा बेलायतमा पक्राउ परेका थिए । उनलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो । आरोप पुष्टि नभएपछि कुमार लामालाई बेलायतले हिजो थुनामुक्त गरेको हो ।












