१८ भदौ, काठमाडौं । भारतले अवाञ्छित व्यक्ति भनी केही सातापहिले भारतले निष्काशित गरेका एक चिनियाँसँग ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले बेइजिङमा छलफल गरेका छन् । भारतले केही साताअघि भिसाको समय नथपेर अवाञ्छित व्यक्ति करार गरेर दिल्लीबाट चीन फर्काएका तीन जनामध्ये मुख्य भनिएका मिस्टर ऊलाई चीनको राजधानी बेइजिङ्गमा अध्यक्ष नेपालले नेपाल, इण्डिया र चीनबीचका समस्या तथा ग्रेटर नेपालको विषयमा केन्द्रित भई छलफल गरेका हुन् ।
दक्षिण एसियालाई नजिकबाट बुझेका र दिल्लीलाई नजिकबाट बुझेका ऊसँगको छलफल र विचार विमर्शबाट भारतलाई नजिकैबाट सजिलोसँग बुझ्ने अवसर प्राप्त भएको महशुस आफूले गरेकोे फणिन्द्र नेपालले दावी गरेका छन् ।
सुगौली सन्धिपछि नेपालले गुमाएको भूभाग नेपालले नै फिर्ता पाउनुपर्ने भन्दै फणिन्द्रले ग्रेटर नेपाल अभियान संचालन गर्दै आएका छन् । इष्ट इण्डिया कम्पनीसँग भएको सम्झौदा व्रिटेनको वहिर्गमनसँगै रद्द भएको भन्दै ग्रेटर नेपाल मोर्चाले अभियान संचालन गर्दै आएको छ । सुगौली सन्धिमा गुमेको भूमि फिर्ता गर्नुको साटो भारतले अझै थप नेपालको भूमि अतिक्रमण गर्दै आउको छ । पछिल्लो समयमा ग्रेटर नेपाल मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल निरन्तर बेइजिङ धाउन थालेका छन् ।












