डाक्टर दिपेश शाक्य
इन्टर्नल मेडिसिन न्यूरोलोजि
१७ भदौ, काठमाडौं । यति बेला नेपाली समाज नेपाली महिलाहरुको महान पर्व हरितालीका तिजको संघारमा उभिएको छ । सडक देखि सदन सम्मका महिलाहरु तिजको रमझमले मनमुक्त भएका छन् । रातै सारी रातै तिलारिले सजिएका महिलाहरुको जमघट यतिवेला हरेक घर र पार्टीप्यालेसमा देख्न पाईन्छ । वर्ष दिनमा एक पटक आउने तिजमा रमाउने महिलाहरु पछिल्ला दिनमा एकातिर बढ्दै गएका छन् भने अर्कोतर्फ खानपिनमा भएको तडक भडकले स्वास्थ्यलाई पनि नराम्रो संग असर पार्दै लगेको छ । त्यसैले यस्ता चाडवार्डको समयमा खानपिनलाई मुख्य रुपमा ध्यान दिन आवश्यक छ ।
दरलाई स्वास्थ्यका हिसावले पनि हेरौं
नेपालीहरुको स्वास्थ्य दुई किसिमको छ । रोग भएको र रोग नभएको । रोग भएकाले बार्ने कुरा त्यसै पनि बार्नु पर्ने हुन्छ । लिवर, डाईबेटिज, चिनी बिभिन्न रोग भएका र रोग नभएकाहरुले खानै नहुने कुरा भनेको धेरै चिल्लो पिरो, फ्राई गरेको खानेकुरा, बिषेशगरी रातो मासु खान अयोग्य छ । रक्सी चुरोट, विडि, वियर आदी अल्कोहल खान हुदैन । दम लागेको मानीसले धेरै चिसो खान हुदैन, डाईवेटिज भएको मानीसले गुलियो, हाईवोटेन्सन भएको मानीसले भुटेको फ्राईगरेको अमल चिज बाहेक खान हुदैन । धेरै मानीसहरु तिजको समयमा बिभिन्न भोज भतेरमा बस्ने, पानी कम खाने, गर्दछन् जसले गर्दा झाडापखाला लाग्न सक्छ । दर भनेपछि चिल्लो, पिरो र मसलेदार हुनुपर्छ भन्ने मान्यता हाम्रो नेपाली समाजमा बसिसकेको छ । दर खाने भनेको महिलाहरुको जमघट गराउने एउटा माहोल हो । त्यसैले यस्तो संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न आवश्यक हुन्छ । हाम्रै बारीमा उत्पादीत आफ्नै हातले बनाएको सामान्य नेपाली खाना नै दर हो भन्ने मान्यता हामीले लिनु पर्दछ । तर आजकाल हाम्रा पारम्परिक खानेकुराभन्दा पनि बाहिरी संस्कृतिसँग जोडिएका खानेकुरा प्राथमिकतामा पर्दै आएका छन् । त्यस्ता खानेकुराको गुणस्तरमा विश्वसनीयता हुँदैन त्यसैले स्वास्थ्यमा समस्या देखिन सक्छ ।
औंषधि सेवन गरिरहेकाले व्रत नबसौँ
हामी साथीभाइ वा आफ्नै रहरले पनि व्रत लिने गर्दछौ । तर त्यो राम्रो पक्ष हैन । सक्दै नसक्ने मानीसले व्रत लिनु हुदैन । औंषधि खाने मानीसहरुले पनि औंषधिमा ध्यान नदिइ व्रतमा बढि ध्यान दिने गर्दा बिभिन्न किसिमका समस्या देखा गर्ने गरेको छ । उनीहरुले केहि नखाई ईन्सुलिन मात्रै लिने गर्दा रोगीहरुलाई झन बढि सताउने गर्दछ । औंषधि समयमा नखाने जसले शरिरलाई हानी गरिरहेको हुन्छ ।
एक किसिमका मानीसहरु रितिरिवाजलाई सम्मान गर्दै तिज मनाउनेहरु छन् भने अर्कातिर मोडलिङ् तडक भडकका रुपमा मात्रै मनाउने समाज पनि प्रसस्ती मात्रामा छन् । तर जसले जसरी तिज मनाएपनि सबैको समस्या भनेको एउटै हो । उनीहरुका लागी खानपिनमा ध्यान दिनु अनिवार्य छ ।
पानी र फलफुल खानु राम्रो
तिजमा निराधार व्रत बस्ने भने सबैको चलन छ । तर पानी र फलफुल खाए राम्रो हुन्छ । हामी चिकित्सकहरु सबैलाई के आग्रह गर्दछौं भने तपाईहरु पहिलो कुरा आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुस् । ताकि पानी र फलफुल खादा शरिरलाई राम्रो गर्दछ । खालि पेट भएका कारण जे खाएपनि शरिरमा असर गर्ने हुदा खादा ध्यान पुर्वक खानु पर्दछ । फुलफुल खादाँ पखालेर मात्रै खाने, सकेसम्म ताजा फलफुल खाने, पानी सफा खाने, चिल्लो, भुटेको, मसला बढि भएको खानेकुरा नखानु राम्रो हुन्छ ।
आफ्नै हातले बनाएर खानुस, खानका लागी मात्रै नखानोस्
सहरमा बनेका हरेक खानामा मिसावट हुन्छ । त्यसैले स्वास्थ्यका लागि हितकर हुने दर आफ्नै हातले बनाएर खानु राम्रो हुन्छ । लामो समयसम्म नियमित मसलेदार खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक मानीन्छ । तडक भडकका रुपमा यस्ता खानेकुरा सेवन गर्दा शरीरले नै नसहने गम्भीर समस्याहरू पनि आउन सक्छन् । सहरी क्षेत्रमा बसोबास गर्ने मानीसहरुमा शारीरिक परिश्रम पनि नहुने हुँदा मसलेदार खानाले पाचनक्रियामा समस्या निम्तिन्छ । यस्तो अवस्थामा रक्तचाप असन्तुलित हुन्छ । त्यसैले भरसक संयम अपनाएर सादा खानपान नै उपयुक्त हुन्छ । नियमित रूपमा अत्यधिक गुलियो, अमिलो, पिरो, चिल्लो खाना खाँदा ग्यास्ट्रिक हुने, कोलेस्टोल बढ्ने, हृदयघातको सम्भावना बढ्ने, कब्जियत हुने जस्ता जटिलता आउन सक्छन् ।
स्वास्थ्यकर खानपिनको अभाव ले तिजको तिन हप्ता अगाडि देखिनै मानीसहरु बिभिन्न रोग बोकेर अस्पताल आउने गरेका छन् । विगतमा हामीले यस्तो समस्या देखेका थिएनौं तर आज तिज मनाउने शैलि फरक भएका कारणले विरामीहरु बढेका हुन् । खाना आफ्नो लागी खाने हो । खाना खानका लागी खाने हैन । मलाई भोक लाग्छ र मैले खानुपर्छ भनेर हैन । त्यो खानाले मलाई खान मन लगायो भनेर खार्नुपर्छ भनेर सोच्न आवश्यक छ । जवरजस्ती खाँदा समग्र स्वस्थ्यमा असर पर्दै जान्छ ।
अन्त्यमा
माछामासुभन्दा पनि फलफूलमा जोड गर्नुहोस । मसलेदार खानपानभन्दा सलादमा मन लगाउनु राम्रो हो । चिल्लो, पिरो कम भएको गेडागुडी खानुहोस् । यस्तो खानाले रमाइलो पनि घटाउँदैन स्वास्थ्य पनि बिगार्दैन । चाडबाडमा देखिने ठूलो समस्या भनेको खाने आनिबानी पनि हो । एकैपटक धेरै खाने आमनेपालीको बानी छ । यो बानी त्याग्नुपर्छ । थोरै–थोरै गरेर पटक–पटक खानु राम्रो हुन्छ ।
(शाक्य काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा कार्यरत छन् ।)











