१६ भदौ, काठमाडौं । सरकारले चीन र भारतका लागि राजदूत नियुक्तिको सिफारिश गरेको छ । भारतका लागि ओली सरकारले फिर्ता बोलाएका दीपकुमार उपाध्यायकै नियुक्ति गर्ने र चीनका लागि पूर्व मुख्यसचिव लिलामणि पौडेललाई नियुक्तिका लागि सरकारले नाम सिफारिश गरेको हो ।
भारतका लागि राजदूतमा भने केपी ओली नेतृत्वको अघिल्लो सरकारले फिर्ता बोलाएका पूर्व राजदूत दीपकुमार उपाध्यायकै नाम सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि राजदूतमा उपाध्याय र चीनका लागि राजदूतमा पौडेलको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
तत्कालीन राजदूत महेश मास्केको कार्यकाल सकिएपछि चीनमा नेपाली राजदूत थिएनन् भने भारतमा उपाध्यायलाई फिर्ता बोलाएपछि अर्को राजदूत नियुक्त गरेको थिएन । सरकार परिर्वतनमा भूमिका खेलेको लगायतको आरोप लगाएर ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता राम कार्कीले भारतमा निकट भविष्यमा प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको कुरालाई मध्यनजर गर्दै राजदूत नियुक्तिको सिफारिश गरिएको जानकारी दिए ।
त्यस्तै मन्त्रीपरिषद्ले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारमा डा ऋषि अधिकारी र आर्थिक सल्लाहकारमा डा श्रीराम पौडेललाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद बैठकले आगामी निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि प्रदान गरेको सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।
संसदीय सुनुवाइपछि मात्रै दुवैजनाको नियुक्ति हुने छ ।












