१० भदौ, चितवन । नारायणघाट मुग्लिन सडकखण्डमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । २० जनाको घटनास्थमै र एक जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका मध्ये केहिको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । घाइते भएका १६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।
घाइते दुई वर्षिया एक बालिकाको मुग्लिनमा तथा ९ जनाको भरतपुरमा रहेको नयाँ मेडिकल कलेजमा र २ जनाको भरतपुरमै रहेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । गौरबाट पोखराका लागि छुटेको विन्दावासिनी ट्राभल्सको ग १ ख ३७०९ नम्बरको रात्री बस चितवनको चन्डीभन्ज्याङ गाविस कालीखोलाबाट झण्डै सय मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।
बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट सातजना यात्रु चढेको समिति पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।
अन्य दुईजना नदीमा हराइरहेको आशङ्का गरिएको छ । उनीहरुको खोजी कार्य जारी रहेको छ । बसका सहचालक गम्भीर घाइते भएका छन् ।











