१० भदौ, काठमाण्डौं । सरकार गठन भएको २३ दिनपछि नेपाली कांग्रेसका १३ मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् । सरकारमा अर्जुननरसिंह केसी, सितादेवी यादव, डाक्टर प्रकाशशरण महत, शंकर भण्डारी, बालकृष्ण खाँण, सुर्यमान गुरुङ, नविन्द्रराज जोशी र गगन थापा छन् ।
त्यस्तै केशव कुमार बुढाथोकी, दीपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी पनि मन्त्री भएका छन् । पद तथा गोपनीयताको सपथ ग्रहणमा सितादेवी यादव सहित नेपाली कांग्रेसका सबै मन्त्रीहरुले नेपाली पोसाक लगाएका थिए । प्रधानमन्त्री प्रचण्ड सट र पेन्टमा सामेल भएपनि कांग्रेसका मन्त्रीहरुले दौरा सुरुवाल र खरानी रंगको कोट लगाएका थिए । सरकारमा यसअघि नै कांग्रेसका विमलेन्द्र निधि र रमेश लेखक मन्त्री भैसकेका छन् । यो संगै कांग्रेसबाट मन्त्रीहुनेहरुको संख्या १५ पुगेको छ ।











