९ भदौ, कास्की । पौडी खेल्ने क्रममा पोखराको फेवातालमा डुवेर एक युवकको मृत्यु भएको छ ।
बिहीबार मध्यान्ह १२ बजेदिर फेवातालको दक्षिण पूर्वी क्षेत्रमा केदारेश्व मन्दिर नजिकै पौडी खेल्न पानीमा पसेका स्याङ्जा घर भइ पोखरा बस्दै आएका १९ बर्षीय अमृत मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
मानिस बेपत्ता भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले उनको उद्धार गरी स्थानीय जिएमसी अस्पताल र्पुयाएको थियो । अस्पताल पुगेलगत्तै डाक्टरले मगरलाई मृत घोषणा गरेको डिएसपी बज्राचार्यले बताए ।











