९ भदौ, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा आपसी एकता एवम् सद्भाव कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गरेकी छन । पर्वले बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त देशलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पुगेकाले सबैले निरन्तरता दिनु जरुरी भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।
‘‘भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन राष्ट्रपति भण्डारीद्धारा हस्ताक्षरीत शुभकामना सन्देशमा भनिएको छ । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकाल पर्यन्त अक्षुण्ण राखी मनुष्य जन्म सफल पार्न सकौं” सन्देशमा भनिएको छ । यसैगरी, सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा अति महत्वका साथ सदियौँदेखि मनाइँदै आएको गौरा पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।











