८ भदौ, काठमाडौं । इन्धनको समस्याको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्री प्रचण्डले पहल थालेका छन् । बारम्बार अभाव हुने इन्धनको समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डले आपूर्ति मन्त्रालय तथा आयल निगमसँग छलफल वुधबार छलफल गरेका छन् । सिंहदरवारमा भएको छलफलमा समस्या समाधानका लागि मन्त्रालय र आयल निगमका अधिकारीहरुले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।
तीन महिनासम्म पुग्ने गरी इन्धन भण्डारण गर्नका लागि मन्त्रालयले निगमले प्रधानमन्त्रीसमक्ष योजना पेश गरेको आपूर्ति मन्त्री दीपक बोहोराले जानकारी दिए । ७ वटा प्रदेशमा ५० हजार किलोलिटर डिजल र पेट्रोल भण्डारण तथा ५ हजार टन ग्याँस भण्डारण गर्ने र काठमाडौंका लागि छुट्टै ५० हजार किलोलिटर इन्धन भण्डारणका लागि प्रधानमन्त्रीसमक्ष प्रस्ताव पेश गरेको जानकारी बोहोराले दिए ।
काठमाडौंका लागि बनाइने भण्डारणलाई भने तराई काठमाडौं जोड्ने फास्ट ट्रयाकको निर्माण गरिनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरिएको छ ।
देशमा २ लाख ८५ हजार किलोलिटर डिजेल, १ लाख १० हजार किलोलिटर पेट्रोल र ५० हजार टन भण्डारण गर्न सकिए त्यसले ३ महिनासम्म उपभोक्ताको माग धान्न सक्ने जानकारी मन्त्रालयले दिएको छ । त्यस्तै रक्सौल अमलेशगञ्ज पाइपलाइनको विषयमा पनि बैठकमा छलफल भएको मन्त्री वोहराले बताए ।
बैठकमा सुरुमा पाइपलाइनको लम्बाई ४१ किलोमिटर भनिए पनि यो ३७ किलोमिटर मात्र रहेको जानकारी समेत दिइएको थियो । ब्रिफिङपछि प्रधानमन्त्री प्रचण्डले आफूले यस विषयमा अध्ययन गरेर छिट्टै थप निर्देशन दिने बताएका छन् ।












