८ भदौ, काठमाडौं । नयाँ संविधानअनुसार सरकार बनाउने र गिराउने खेलमा सामेल भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने ध्वाँस दिएको छ । संविधानअनुसार नै मधेसी दलका सांसदलहरुले एकातिर सुविधा उपभोग गरिरहेका छन् भने अर्कोतर्फ त्यही संविधान जारी भएको दिनलाई कालो दिवसका रुपमा मनाउने तयारी मोर्चाले गरेको हो । मोर्चाको आज बसेको बैठकले आफूहरुसँग गरेको तीन बुँदे सहमतिको कार्यान्वयन गर्न समेत माग गरेको छ ।
वुधबार काठमाडौंमा बसेको मोर्चाको बैठकले केही बुँदाहरु कार्यान्वयन भएको र केही बुँदाहरु कार्यान्वयन गर्न बाँकी रहेको भन्दै अन्य सहमति पनि कार्यान्वयन गर्न माग गरेको हो । बैठकमा सरकारमा जाने विषयमा पनि छलफल भएको थियो । मोर्चा नेता सर्वेन्द्रनाथ शुक्लले यथास्थितिमा आफूहरुका माग सरकारमा जाने कुराभन्दा महत्त्वपूर्ण भएको बताउँदै तत्काल सरकारमा जाने कुनै सोच मोर्चाको नरहेको जानकारी दिए ।
बैठकमा स्थानीय तह पुनसंरचनाका विषयमा पनि बैठकमा छलफल भएको र अर्को बैठकमा यसले निरन्तरता पाउने उनले जानकारी दिए । त्यस्तै मोर्चाले संविधान जारी भएको वर्षगाँठ असोज ३ लाई मधेसमा कालो दिवसका रूपमा मनाउने योजना समेत बनाएको छ ।












