८ भदौ, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । बिहान साढे १० बजे ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिँदै भने ‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको प्रक्रिया अगाडि बढाउनुहोस् ।’











