७ भदौ, काठमाडौं । प्रमुख दलहरुको शक्ति कमजोर भएपछि साना दलको शरण लिने प्रवृत्ति नयाँ होइन । यतिवेला एमाले पनि यही पथमा लागेको छ । सत्ता र शक्तिमा पुग्दा साना दललाई नगन्ने तर शक्ति कमजोर भएको वेला तिनीहरुलाई बटुल्ने प्रवृत्ति विगतमा माओवादीले देखाउँदै आएकोमा अहिले यही प्रवृत्ति एमालेले अवलम्बन गरेको हो । विगतमा कांग्रेस र एमालेले एक्ल्याउँदा मधेसी दल र साना दललाई लिएर हिँडेको माओवादीले संविधान जारी गर्ने वेलामा ती साना दललाई छाडेर कांग्रेस र एमालेकै समूहमा सामेल भएको थियो ।
कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलहरुले यतिवेला एमालेलाई एक्ल्याएपछि उसले साना दलहरुलाई बटुलेर छलफल अगाडि बढाउन थालेको छ । एमालेले कांग्रेस र माओवादीलाई साथ नदिएका साना दललाई भेला पारेर संविधान कार्यान्वयन, स्थानीय तहको पुनर्संरचना र संविधान संशोधनका विषयमा गृहकार्यको थालनी गरेको छ । गृहकार्यस्वरुप मंगलबार प्रतिपक्षमा रहेका साना दलहरुसँग एमालेले बैठक गरेको छ ।
बैठकमा राप्रपा नेपाल, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, संयुक्त जनमोर्चा लगायतका दलका नेता सहभागी थिए । प्रतिपक्षी दलहरुको बैठकले सरकार संविधान कार्यान्वयनमा गम्भीर नभएको तथा राष्ट्रियताको मुद्दालाई हलुको बनाएको निष्कर्ष निकालेको छ ।
नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले अघिल्लो सरकारले सार्वजनिक गरेको संविधान कार्यावयनको कार्ययोजनालाई सरकारले बेवास्ता गरेका कारण तथा राष्ट्रियताको मुद्दा कमजोर बनाउने षड्यन्त्र भएकाले एमालेले प्रतिपक्षी दलहरुको साझा धारणा बनाउन खोजेको बताए । प्रतिपक्षी दलहरुको बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा अनुपस्थित थिए ।












