७ भदौ, काठमाडौं । आपूर्ति मन्त्री दीपक बोहोराको कमिसनको खेलका कारण एक हप्तादेखि राजधानीका वासिन्दाले पेट्रोल पाउन सकेका छैनन् । मन्त्री हुनेवित्तिकै पेट्रोलियम डिलर्स एसोसिएसनले तारे होटलमा दिएको ककटेल डिनर पार्टीसँगै तेल अभाव पारेर कालोबजारीलाई प्रोत्साहन दिने नीति बोहोराले अपनाएका छन् । प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बोहोरालाई स्पष्टीकरण लिँदा समेत उनले सहज आपूति गर्नेतर्फ चासो देखाएका छैनन् । बरु उनले भोलिदेखि पेट्रोल सहज हुने भनेको धेरै दिन वितिसक्दा समेत उपभोक्ताले चार घण्टासम्म लाइन बस्दा पनि पेट्रोल पाउन सकेका समस्या परेको छ। मंगलबारसम्म पनि धेरै पेट्रोल पम्पहरुमा ‘पेट्रोल छैन’ लेखिएको ट्याग झुण्ड्याइएको छ। तर, आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र निगमका थानकोट डिपो प्रमुखको एउटै स्वर छ ‘भोलिदेखि पेट्रोलको लाइन हुँदैन। सायद आजदेखि नै, पेट्रोलको लाइन हट्नेछ, आज समाधान भएन भने पनि भोलिबाट लाइन देख्न पाउनु हुने छैन’ नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्माले बारम्बार भनिरहेका छन्।
पेट्रोल अभाव के कारणले भयो भन्ने सवालमा सरोकारवाला निकायको फरक–फरक धारणा व्यक्त गर्ने गरेका छन्। पेट्रोल अभाव हुनुका पछाडि नेपाल आयल निगम, आपूर्ति मन्त्रालय र थानकोट डिपोका अधिकारीहरुले आ–आफ्नै दावी गरेका छन्।
इन्डियन बजार पेट्रोलको मूल्य घट्दा पेट्रोल अभावको मुख्य कारण अन्तर्राष्ट्रिय बजार अनुसार भारतमा पेट्रोलको भाउ घट्नु हो। भारतमा मूल्य घटेपनि नेपालमा घटिसकेको छैन। तर स्वचालित मूल्य प्रणाली अनुसार केही दिनमा घट्न सक्छ। २०७१ असोजदेखि पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित कायम गरिएकोले त्यसको प्रभाव स्वभाविक समेत भएको आयल निगमका एक अधिकारीले बताए। उनले मूल्य घट्ने आशामा पेट्रोल पम्पहरुले आवश्यक पेट्रोल नउठाएकाले पेट्रोल अभाव भएको प्रतिक्रिया दिएका छन्। ‘
त्यस्तै जनैपूर्णिमाको दिन कारोबार नहुनुले अभाव देखिएको नेपाल आयल निगमका निमित्त निर्देशक र थानकोट डिपो प्रमुख बताउँछन् ।
त्यस्तै मजदुरहरुको हड्ताल न्युनतम पारिश्रिमक वृद्धिको माग गर्दै एक हप्तायता नेकपा माओवादी केन्द्र निकटका मजदुरहरुले प्रत्यक दिन निश्चित समय हड्ताल गर्दै आएका छन्। ‘मजदुर र व्यवसायीका बीच मजदुरको न्यूनतम पारिश्रमिक निर्धारणमा कुरा नमिल्दा वितरणमा केही समस्या परेको हो। तर यसको कारण मात्रै समस्या भएको हैन एक दुई घण्टा वितरण नहुँदैमा यस्ता समस्या नपर्नुपर्ने’आयल निगम थानकोट डिपोका प्रमुख रविन शर्माले बताउँछन्। कानुतः पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकोले आन्दोलन गरेर वा कुनै नाममा वितरणमा अवरोध गर्न पाइँदैन।
त्यस्तै पेट्रोल वितरण सहज नहुनुमा ट्यांकर मर्मतलाई पनि कारण बनाइएको छ । भारतको रक्सौलबाट पेट्रोल बोक्ने ट्यांकर गत भदौ असोजमा मर्मत गर्नुपर्ने भए पनि अहिले मर्मत गरिँदैछ। जसले गर्दा केही दिन पेट्रोल अयातमा कमी आएको आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीले बताएका छन्। तर आयल निगम र थानकोट डिपोका अधिकारी भने ट्यांकर मर्मतमा पठाएको कारण कुनै समस्या नपरेको दावी गर्दछन्।
यसरी सरोकारवाला निकायका अधिकारीहरुका समेत फरकफरक भनाइ आउनुले तेलमा चलखेल भएको स्पष्ट भएको छ । यस अवस्थाले सरकार गठन भएको दुई हप्तामै विनाकारण पेट्रोल आपूर्तिमा समस्या देखिनुले प्रचण्ड नेतृत्वको सरकारका आगामी दिनको संकेत दिएको छ । उपभोक्ताले यतिवेला प्रश्न गरेका छन् – कारणविना नै इन्धन आपूर्ति गर्न नसक्नेले कसरी सरकार चलाउँछौ प्रचण्ड ?













