७ भदौ, काठमाडौं । उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले छिट्टै नेपालको भ्रमण गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमण गरेर फर्किएका निधिले भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने विषयमा जानकारी दिएका हुन् । भारत भ्रमण सकेर आज स्वदेश र्फकने क्रममा त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै निधिले नेपाल भारतबीच देखिएको चिसोपना हटाउनका लागि आफ्नो भ्रमण फलदायी भएको दावी गरे। प्रधानमन्त्री प्रचण्डले पनि छिट्टै भारत भ्रमण गर्ने विषयमा आफ्नो भ्रमणमा कुराकानी भएको उनले बताए ।
त्यस्तै निधिले भारत भ्रमणका क्रममा फास्ट ट्रयाक निर्माणबारे गोप्य सहमति गर्ने भनी प्रकाशित समाचारको खण्डन गरेका छन् । एक अनलाइन साइटले फास्ट ट्रयाकबारे सहमति गर्ने भनी समारचार प्रकाशित गरेकोमा सो समाचार कपोलकल्पित भएको टिप्पणी उनले गरे । आफ्नो भ्रमणका क्रममा फास्ट ट्रयाकबारे कुनै सहमति नगरेको उनले प्रष्ट पारे ।
उपप्रधानमन्त्री निधि सोमबार राति फर्किने भने पनि भ्रमण लम्बिएपछि एक दिन ढिला मंगलबार स्वदेश फर्किएका हुन् । भदौ २ गते भारत प्रस्थान गरेका उपप्रधानमन्त्री निधिले त्यहाँ रहँदा भारतका राष्ट्रपति प्रणव मखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज लगायत उच्च नेतृत्वलाई भेटेका थिए । निधिले विपक्षी कांग्रेसका उपाध्यक्ष राहुल गान्धी लगायतका नेतालाई पनि भेटेका थिए । प्रधानमन्त्री प्रचण्डको विशेष दूतको रुपमा चीन भ्रमणमा गएका उपप्रधान तथा अर्थमन्त्री कर्ष्णबहादुर महरा पाँचदिने भ्रमण पूरा गरी गत शनिबार नै स्वदेश फर्किसकेका छन् ।












