४ भदौ, काठमाडौं । हिन्दू धार्मिक नेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका ३ पवित्र धार्मिकस्थलको भ्रमण गर्न नपाएका कारण नेपालसँग रिसाएको विश्लेषण भैरहेका वेला उनलाई ती स्थलको भ्रमणका लागि निम्तो दिएर फकाउने कोसिस गरिएको छ । शनिबार दिल्लीमा भएको मोदी र प्रधानमन्त्री प्रचण्डका विशेष दूत निधिबीचको भेटमा मोदीलाई निम्तो दिइएको हो ।
दुई वर्षअघि मंसिरमा भएको सार्क शिखर सम्मेलनमा नेपाल आउने क्रममा मोदी जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने कार्यक्रम बनाइएको थियो। तर मोदी जनकपुर जाँदा राजनीतिक फाइदा लिने नेपालकै दलहरुको दाऊपेचका कारण मोदी निराश भएर फर्कनुपरेको थियो । मोदीको जनकपुर भ्रमण भाँड्नेमा हालका उपप्रम तथा तत्लकालीन मन्त्री विमलेन्द्र निधि पनि एक थिए । तत्कालीन अवस्थामा पनि मन्त्री रहेका निधिले एमाओवादी र मधेसवादी दललाई मोदी भ्रमणको जस जाने देखेर षडयन्त्र समेत गरेका थिए । तर अहिले भने तिनै निधिले मोदीलाई निम्तोपत्र दिएका छन् ।
![]()
त्यतिबेला सरकार र विपक्षी दलहरुबीच मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन मन्दिर परिसरमा गर्ने कि बाह्रबिघा मैदानमा गर्ने भन्नेमा विवाद थियो। सरकारले मोदीलाई मन्दिर परिसरमा सीमित गर्न लागेको भन्दै खुला मैदानमा कार्यक्रम गर्नुपर्ने अडानका साथ भारतीय प्रधानमन्त्री रिझाउन तत्कालीन विपक्षी दलहरु तल्लीन थिए भने निधिले मोदीलाई अन्य दलसँग खुशी भएको हेर्न चाहँदैनथे । कारण थियो जनकपुरमा निधि कमजोर हुन सक्ने सम्भावना । फलस्वरुप सुरक्षाको कारण देखाउँदै निधिकै योजनामा मोदीको भ्रमण रद्द गरिएको थियो ।
तर यतिवेला निधि र माओवादी एक ठाउँमा आएका छन् र निधि भ्रमणको जस एकसाथ लिने योजनाअनुरुप निम्तो दिइएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नेपालको नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने आश्वास समेत दिएका छन् ।











