४ भदौ, काठमाडौं । कम्युनिस्ट पद्धतिको विरोधी नेपाली काँग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने आफ्नो दलले अपनाउँदै आएको पद्धतिकै विरोध गरेका छन् । पार्टीको आधारस्तम्भका रुपमा रहेको नेपाल विद्यार्थी संघमा आफू पक्षको नराम्रो हार व्यहोरेका पौडेलले आफ्नो दलले अपनाउँदै आएको पद्धतिकै आलोचना गरेका हुन् ।
नेपाल प्रेस युनियनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले रुस र चीनमा कम्युनिस्ट व्यवस्थाले गरेको विकासको अवलम्बन पद्धति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । जीवनभर कम्युनिस्ट पद्धतिको विरोध गर्दै आएका वरिष्ठ नेता पौडेलले रुस र चीनको उदाहरण हेरेर नेपालको विकास गर्नुपर्ने भनी पहिलोपल्ट अनौठो धारणा व्यक्त गरे ।
पौडेलले चीन र रुसबाट पद्धति सिक्नुपर्ने कुरा मात्र गरेनन् नेपालको पद्धति नै गलत भएकोले नेपालीहरु पछाडि परेको ठहर समेत गरे । २०४६ सालपछि कांग्रेसले नै नेपालको शासन पद्धति हाँक्दै आएको छ । तर पौडेलले यही पद्धति नै ठीक नहुँदा देश पछाडि परेको भन्दै चीन र रुसको पद्धतिबाट सिक्नुपर्ने अभिव्यक्ति दिए ।
पौडेलले कांग्रेसको नीतिप्रति विरोधाभास अभिव्यक्ति दिए । नयाँ संविधानमा प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्न कांग्रेस सहमत नहुँदा नेपालमा राजनीतिक अस्थिरता यथावत रहेको छ । पौडेलले यस सन्दर्भमा आफ्नै दलको अडानविपरीत अभिव्यक्ति दिए । उनले भने हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौँ” । तर यस्तो अस्थायी पद्धति कांग्रेसले किन अबलम्बन गरिरहेको हो भन्ने कुरा भने पौडेलले स्पष्ट पारेनन् ।












