३ भदौ, काठमाडौं । जनतालाई महङ्गोमा इन्धन बेचेर कमाएको रकमबाट बोनस खाने आयल निगमका कर्मचारीले काम भने नगर्ने गरेको तथ्य खुलेको छ । काम नगर्ने कर्मचारीमाथि आपूर्ति मन्त्रालयले निगरानी बढाउँदै आयल निगमसँग लिखित स्पष्टीकरण सोधेको छ । निगमका कर्मचारीहरू नियमित काममा उपस्थित नभएको निष्कर्ष निकाल्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
‘हाजिरी छड्केमा आइतबार निगमको हाजिरी फाइल मगाएर हेर्दा एकै दिन ३४ जना अनुपस्थित रहेको फेला परेको आपूर्ति मन्त्रालयका प्रवक्ता आन्नदराम रेग्मीले जानकारी दिए । आयल निगमका अनुसार केन्द्रमा १ सय ५० जना स्थायी कर्मचारी छन् । यस्तै ३४ जना दैनिक ज्यालादारीमा छन् ।

मन्त्रालयले निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई स्पष्टीकरणका लागि पत्र बुझाएको जनाएको छ । रेग्मीका अनुसार अनुपस्थित हुनेमा उच्च कर्मचारीहरू पनि छन् ।
मन्त्रालयका अनुसार कर्मचारीलाई अनुशासित बनाउन छड्के गरिएको थियो । निगमका कर्मचारीहरू नियमित काममा नभएको भन्ने गुनासो बढेपछि सत्यतथ्य बुझ्न मन्त्रालयले हाजिरी फाइल लगेको थियो ।
‘नियमित काम गरे नगरेको जान्न चाहेका थियो । त्यसैले छड्के अनुगमन गरी कर्मचारीको हाजिरी कपी अध्ययनका लागि ल्याएका थियौं’ प्रवक्ता रेग्मीले भने, ‘अध्ययन गर्दा भद्रगोल रहेको फेला पर्यो ।’
विनासूचना हाजिर नगरेकाले कानुनरनियमावलीअनुसार अघि बढ्ने मन्त्रालयले जनाएको छ । ‘प्रक्रिया के हो भनेर स्पष्टीकरण मागेका छौं,’ उनले भने, ‘पत्रको जवाफअनुसार कार्यसम्पादनअनुसार अर्को ठाउँमा सरुवा गर्ने, हटाउने, सचेत गराउने नियमअनुसार गर्छौं ।’
निगमले खाना पकाउने ग्यास बुलेट खरिदका लागि अनुमति दिएपछि दुई निकायबीच विवाद बढेको छ । मन्त्रालय भने विनियमावली नबनाएको भन्दै खरिद प्रक्रिया रोक्न चाहन्थ्यो । निगमले साउन ४ गते नेपाली ग्यास उद्योगीलाई बुलेट किन्न अनुमति दिएको भोलिपल्टै मन्त्रालयले त्यसमा रोक लगाएपछि विवाद चुलिएको हो ।













