२ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई पाखा लगाउने योजनाअनुसार विद्यार्थी संगठनलाई आफ्नो पक्षका विद्यार्थीको कब्जामा लिन सफल भएका छन् । आफू पक्षका विद्यार्थी नेताहरुलाई नेपाल विद्यार्थी संघको नेतृत्व कब्जा गर्नका लागि उपत्यकामा २ सय प्रतिनिधि बढाउनेदेखि कृष्णप्रसाद सिटौला पक्षलाई भागवण्डा मिलाउने काम गरेर देउवाले पौडेल पक्षलाई पाखा लगाउन सफल भएका हुन् । पौडेल पक्षलाई थकाएर गलाएर दश दिनपछि गरेको निर्वाचनबाट देउवाले आफू पक्षधर नैनसिंह महरलाई नेतृत्वमा पुर्याउन सफल भए । त्यति मात्र होइन अधिकांश पदमा आफ्नै पक्षका विद्यार्थीलाई जिताउन समेत देउवा सफल भएका छन् ।
महरले रामचन्द्र पौडेल पक्षीय मनोजमणि आचार्यलाई पराजित गरेर नेविसंघको १८ औं सभापति बनेका छन् । देउवा पक्षका विद्यार्थीहरु कृष्ण प्रसाद सिटौला पक्षका विद्यार्थीसँग संयुक्त प्यानल बनाएर निर्वाचनमा होमिएकामा संयुक्त प्यानलका अधिकांश उम्मेद्वार विजयी भएका छन् । पौडेल पक्षले निकै कम पद्मा मात्र जीत हासिल गरेको छ । सभापतिपछि शक्तिशाली मानिने दुई महामन्त्रीमा संयुक्त प्यानलका कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन् । काफ्ले सिटौला पक्षका हुन् ।
१ सय २९ पद्का लागि भएको निर्वाचनमा सभापतिमा सात जनासहित ६ सय ८४ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।












