१ भदौ, काठमाडौं । महाधिवेशन सुरु भएको १० दिनपछि भएको नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको मतदान आज मध्यरातमा मात्रै सकिने भएको छ । ढिलो गरी सुरु भएको मतदान र मतदाताको संख्या धेरै भएका कारण मध्यरातमा मात्रै मतदान सकिने भएको हो । ९ वर्षपछि भएको नेविसंघको महाधिवेशन अनेक विवादका कारण अब भने टुंगोमा पुग्ने भएको हो ।

साउन २३ गते देखि सुरु भए पनि प्रतिनिधि विवादका कारण पटक-पटक सर्दै आएको महाधिवेशनको मतदान बिहान झन्डै १२ बजेदेखि सुरु भएको थियो।
मतदानमा ३९ वटा इलेक्ट्रोनिक भोटिङबाट र अन्य चार समूहका लागि मतपत्रको व्यवस्था गरिएको छ। त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र विदेश विभागका प्रतिनिधिहरुका लागि मात्र मतपत्रको व्यवस्था गरिएको हो।
बिहान ढिलोमात्र मतदान सुरु भएकाले सम्पूर्ण मतदान प्रक्रिया सकिन मध्यरात गुज्रिने देखिन्छ। मतदाताको संख्या ३७ सय ६० रहेको छ।
९ वर्षपछि भएको महाधिवेशनमा अध्यक्षका लागि ७ जनाले उम्मेदवारी दिएका छन्। मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की उक्त पदका प्रतिस्पर्धी हुन्।











