१ भदौ, काठमाडौँ । लगातार ओरालो लागेको शेयर बजार वुधबार भने माथि चढेको छ । यद्यपि यो चढाइ त्यति उत्साहजनक भने छैन ।
नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से आज १७.४९ अङ्कले बढेर एक हजार ७३४.९४ विन्दुमा पुगेको छ । कुल १४५ कम्पनीको १६ लाख ९७ हजार ९१२ कित्ता सेयर रु एक अर्ब सात लाख पाँच हजार मूल्यमा कारोबार भएको छ ।

ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.६३ विन्दुले बढेको छ । आज विशेष गरी फाइनान्स र उत्पादन समूहको सेयर कारोबारमा कमी आएको छ भने अन्य समूहको सेयर कारोबारमा बढोत्तरी भएको छ ।
बैङ्किङ ०.९९, होटल २.९६, विकास बैंक १.४६, जलविद्युत् ०.६१, बिमा १.२५ र अन्य समूहको सेयर ०.८ प्रतिशतले बढोत्तरी भएको छ भने फाइनान्स शून्य र उत्पादन समूहको सेयर ०.३४ प्रतिशतले कमी आएको छ ।













