३२ साउन, काठमाडौं । यातायात व्यवसायीहरुलाई अवैध रुपले इन्धन ओसार्न दिएर आफ्नो सरकार टिकाएका एमाले अध्यक्ष केपी ओलीले अहिले भने यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्न माग गरेका छन् । भारतको अघोषित नाकाबन्दीका समयमा बसहरुमा खुलेआमा इन्धन ओसारेर कालोबजारी गर्न दिएका ओलीलाई सरकारबाट हटेपछि मात्रै यातायात क्षेत्रको सुधार गर्नुपर्ने चेतना आएको हो । यात्रुहरु बोक्ने बसमा हजारौं लिटर पेट्रोल बोक्न दिएका ओलीले अहिले आएर यातायात व्यवासायीलाई लगाम लगाउनुपर्ने कुरा गरेका हुन् ।
काभ्रेमा मंगलबार भएको वस दुर्घटनामा आफ्ना कार्यकर्ताको निधन हुनुका साथै केही घाइते समेत भएपछि ओलीलाई यातायातमा थिती बसाल्नुपर्ने कुरा फुरेको हो । आफ्ना कार्यकर्ताको निधन भएका कारण काभ्रेमा पुगेर परिवारसँग भेट गर्दै धुलिखेलको अस्पतालमा पुगेर फर्केका ओली अन्य घाइते कार्यकर्ता भेट्न काठमाडौंको त्रिभुवन शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेका थिए ।
ट्रमा सेन्टरमा घाइतेहरुको अवस्था र उनीहरुको उपचार बारे समाचार संकलन गर्न पुगेका टेलिभिजनका क्यामेरामेनहरुले ओलीलाई देखेपछि उनीतर्फ क्यामेरा सोझ्याउनेवित्तिकै ओलीले यातायात क्षेत्रमा सुधार गर्नुपर्ने कुरा व्यक्त गरे । काभ्रेमा भएको मंगलबारको दुर्घटना सिण्डिकेटकै कारण भएको उनले ठहर गरे ।
ओलीको अभिव्यक्ति लज्जास्पद
यसैबीच एमाले अध्यक्ष ओलीले यातायात सिण्डिकेटको खारेज गर्नुेपर्ने भनी दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको प्रतिक्रिया नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनालले दिएका छन् । नेपालदेशडटकमलाई प्रतिक्रिया दिँदै खनालले भने – ‘देशमा सिण्डिकेट नै नरहेको अवस्थामा पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सिण्डिकेट रहेको भनी उल्लेख गरेको कुरा नै गलत छ । हुँदै नभएको सिण्डिकेट कसरी खारेज हुन्छ ?’ खनालले भने – ‘आवश्यक पर्दा यातायात व्यवसायीलाई उपयोग गर्ने र उपयोगिता सकिएपछि तिनैमाथि लाञ्छाना लगाउने प्रवृत्ति एमाले अध्यक्षमा समेत देखियो । नाकाबन्दीमा इन्धन ओसारेर ओली सरकारलाई सहयोग गर्ने यातायात व्यवसायीलाई यसरी झूटा आरोप लगाउनु लज्जास्पद छ । यातायात व्यवसायीले इन्धन ओसारेर जनतालाई सेवा नदिएको भए ओली सरकार तीन महिनामै ढल्ने थियो ।’
हाल देशभर कतै पनि सिण्डिकेट नरहेको र आलोपालो प्रणालीमा यातायात संचालन गरिएको खनालले बताए । धेरै यातायात संचालन गर्दा एकले अर्कोलाई उछिन्ने क्रममा झन् बढी दुर्घटना हुन सक्ने भन्दै खनालले नियन्त्रण गर्दागर्दै समेत अर्को यात्रु वसलाई उछिन्ने क्रममा दुर्घटना हुने गरेको जिकिर गरे ।













