३१ साउन, काठमाडौं । काभ्रेको विर्ता देउराली यात्रु बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालीस जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका २८ जनालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको हो । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घटनास्थलमा उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाका घाइतेलाई उद्धार गर्न हेलिकोप्टर पठाएर उद्धार गर्न निर्देशन दिएसँगै सेनाको हेलिकोप्टरले घाइतेहरुको उद्धार गरेको थियो ।
त्यस्तै १५ जनाको उपचार धुलिखेलमा भइरहेको छ । दुर्घटनाग्रस्त बस काठमाडौंबाट काभ्रेको मादनकुडारीका लागि जाँदै थियो ।
काठमाडौंबाट कोशीपारी मादनकुँडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालो बाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको थियो । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एकघण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
कम घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनका लागि ५ वटा एम्बुलेन्सको प्रयोग गरिएको थियो । साँझसम्म पनि घाइतेको उद्धार तथा मृतकको शव संकलन कार्य जारी रहेको छ ।













