३१ साउन, चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भारतीय समूहले संचालन गरेको होटलमा करेन्ट लगाएर गैँडा मारेको पुष्टि भएको छ । मेघौलीको सेराई होटलमा गत हप्ता मृत भेटिएको १२ वर्षको वयस्क पोथी गैँडा करेण्ट लागेरै मारिएको तथ्य पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको हो।
एक साताअघि चितवनको मेघौलीस्थित होटल मेघौली सेराईले चर्चेको जग्गामा गैँडा मृत भेटिएपछि चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा परिसरमा रहेको हिरासतमा रहेका होटलका नौ जना कर्मचारीमध्ये दुई जना बिरामी परेका छन् । दुई दिनदेखि रुघाखोकीबाट ग्रस्त बनेपछि होटलका महाप्रबन्धक सरहका तालिम प्रशिक्षक रितेश भट्ट र नेचर गाइड दिपु शर्मालाई आइतबार भरतपुर अस्पताल ल्याई उपचार सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता नुरेन्द्र अर्यालले भट्ट र शर्मालाई आइतबार भरतपुर अस्पताल ल्याएर रगत जाँच गरी पुनः कसरा फर्काइएको जानकारी दिएका छन्।
निकुञ्जले गैँडा मारेको अभियोगमा मेघौली सेराईका नौ जनाविरुद्ध मुद्धा दर्ता गर्न चितवन जिल्ला अदालतबाट दस दिनको म्याद लिई अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका लागि आरोपीलाई २५ दिनसम्म हिरासतमा राख्न सकिने कानूनी प्रावधान छ । अनुसन्धानका लागि थप समय चाहिने अवस्था भएमा पुनः अदालतबाट म्याद थपको लागि अनुमति लिनुपर्छ । ‘अहिलेको लागि १० दिनको म्याद पाएका छौँ’ निकुञ्जका प्रवक्ता अर्याल भन्छन्, ‘आवश्यक परेमा म्याद थपका लागि अदालतबाट अनुमति लिन सकिन्छ ।’
सबै दोषी नभएको दाबी
भारतको होटल ताज समूहले व्यवस्थापन जिम्मेवारी लिएको चौधरी ग्रुपबाट सञ्चालित होटल मेघौली सेराईले कानूनी रक्षाको लागि कदम चालेको छ । सेराईको तर्फबाट मुद्दा हेरिरहेका अधिवक्ता कल्याण पन्तले होटलका प्रबन्धक, प्रशिक्षक, नेचर गाइड, माहुते, इलेक्ट्रिसियनलगायत नौ जनालाई गैँडा मारेको आरोपमा कसरा हिरासतमा राखिएको जानकारी दिए । ‘हामीले प्रतिरक्षाका लागि अदालती प्रकृया अपनाउँछौँ । मुद्दा अदालत पुगेपछि कसरी प्रतिरक्षा गर्ने भन्ने गृहकार्यमा छौँ’ उनले भने, ‘दुर्घटनामा परेर गैँडाको मृत्यु भएको छ । सरकारी सम्पत्ति नष्ट हुँदा हामी पनि दुःखी छौँ । एक, दुई जनाको कमजोरीले घटना भयो होला, तर सबै दोषी छैनन् ।’
चितवनको मेघौलीस्थित मेघौली सेराई होटलले पर्यटकलाई नौकाविहार गराउन फलामे डुंगा तयार पारेपछि विद्युत प्रवाह भइरहने बिजुलीको तार त्यसै अलपत्र छाडेको ठाउँमा गत सोमबार ९साउन २४ गते० निकुञ्जको गैँडा मृत भेटिएको थियो । दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा होटलको जग्गामा मृत भेटिएपछि निकुञ्ज प्रशासनले होटलका कर्मचारीलाई पक्राउ गरी कानूनी कारबाहीको लागि हिरासतमा राखेको छ ।












